तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित 

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल सभापतिमा निर्वाचित हुनुभएको हो । 

संस्थापन इतर (डा.शेखर कोइराला) समूहका गौडेलले ७६० मत र संस्थापन समूहका कुर्मीले ६६३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कांग्रेस बाँकेको अधिवेशन फागुन १९ गते भएको हो । 

पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट सभापति चुनिएको हो । 

पहिलो चरणमा गौडेल, कुर्मी र संस्थापनकै सुरेन्द्रबहादुर हमाल प्रतिस्पर्धामा उत्रिनुभएको थियो । तर, हमाल तेस्रो भएपछि गौडेल र कुर्मीबीच दोस्रो चरणमा निर्वाचन भएको थियो । 

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री हमालले दोस्रो चरणमा गौडेललाई समर्थन गर्नुभएको थियो । १४९३ मतदाता रहेको कांग्रेस बाँकेमा पहिलो चरणमा १४४५ र दोस्रो चरणमा १४३९ मत खसेको थियो ।

यस्तै उपसभापतिमा गोपाल प्रसाद अधिकारी र कृष्णबहादुर कार्की निर्वाचित हुनुभएको छ । गए राती सम्पन्न मतगणना अनुसार अधिकारी ८५७ र कार्की ६८९ मतका साथ निर्वाचित हुनुभएको हो । 

अधिकारी गौडेल प्यानलका हुनुहुन्छ भने कार्की संस्थापनका हुनुहुन्छ । निकटतम प्रतिद्वन्द्वी सुदिप नरसिंह राणा र राज कुमार मौर्यले क्रमशः ५६५ र ५६४ मत पाउनुभयो ।

यस्तै सचिवमा सुधान्शु कोइराला र सञ्जु कुमारी चौधरी विजयी हुनुभएको छ । कोइरालाले ७८९ र चौधरीले ७८५ मत पाउनुभयो । कोइराला गौडेल र चौधरी संस्थापनकी हुनुहुन्छ । सचिवमा पराजित टङ्क प्रसाद काफ्ले (आशिष) ले ५४९ र रवीन्द्र बहादुर हमालले ४९२ मत ल्याउनुभयो ।

सहसचिवमा रेनु सिंह ठाकुर र विनोद कुमार थारु निर्वाचित हुनुभएको छ । ठाकुरले ७३४ र थारुले ६७५ मत ल्याउनुभयो । ठाकुर गौडेल र थारु संस्थापनका हुनुहुन्छ । निकटतम प्रतिद्वन्द्वी पूर्ण कुमार सिंह ठकुरी (पुरन) ले ६४३ र विश्वराज लम्सालले ५१७ मत पाउनुभयो । 

सभापतिसहित संस्थापन इतरबाट पदाधिकारीमा ४ जना र संस्थापनबाट तीन जना निर्वाचित हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button