तपाईँ सुन्दै हुनुहुन्छः

उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने : महामन्त्री थापा

फाइल तस्बिर

गण्डकी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनुभयो ।

एमसिसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताउनुभयो ।

महामन्त्री थापाले जनताबीच काँग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै काँग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताउनुभयो । 

आसन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “काँग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्‍याउनु छ ।”

महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिनुभयो । 

आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेत्री कोपिला रानाभाट, कृष्णचन्द्र बराललगायतले आसन्न निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button