तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती, वार्षिक ८ लाख आम्दानी

सल्यान । विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्न थालेका छन् । तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन् । 

५ वर्ष मलेसिया बिताएका शारदा नगरपालिका–१४ स्यालपानीका प्रेम बहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरी रहेका छन् । विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मेहनत खर्चिने चाहाना पलाएको हो । उनले भने ‘५ वर्षको मेरो विदेश बसाई पछि यो दुःख चाहिँ म नेपालमै गएर गरे भनेपनि महिनाको ३०/४० हजार कमाउन सक्छु भन्ने सोच आयो, त्यसपछि मैले विदेश त्यागे ।’ 

६ रोपनी वार्षिक २५ हजारका दरले भाडा र आफ्नो ६ रोपनी गरी १२ रोपनी क्षेत्रफलमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेका खड्काले भने अहिले वार्षिक १० लाखको कारोबार भइरहेको छ । उनले भने  ‘मलेसियामा बस्दा मलेसियन मासिक ५ देखि ६ सय हुन्थ्यो त्यो नेपालीमा कन्भर्ट गर्दा १५ देखि २० हजार हुन्छ तर अहिले मैले आफ्नै जमिनमा मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आइरहेको छु ।’

विदेशमा २० घण्टासम्म खटिएर पनि काम गर्न सक्नेले स्वदेशमा दैनिक १० देखि १२ घण्टा मात्र राम्रोसँग काम गर्न सकियो भने सुन फलाउन सकिने उनको अनुभव रहेको छ । उनले भने ‘विदेशमा १८ घण्टा देखि २० घण्टासम्म लगातार काम गर्न सक्नेले स्वदेशमा १० देखि १२ घण्टासम्म मात्र काम गर्न सकियो भने विदेशको भन्दा धेरै राम्रो आम्दानी आफ्नै घरमा कमाउन सकिन्छ ।’ 

वार्षिक १० लाख कारोबार, १ जनालाई रोजगारी

विदेशको दुःख र पीडालाई बुझेर स्वदेश फर्की तरकारी खेती गर्दै आइरहेका खड्काले वार्षिक १० लाखको कारोबार गर्दै आइरहेका छन् । सबै खर्च कटाएर ७ देखि ८ लाखसम्म आम्दानी हुँदै आइरहेको उनले बताए । विदेश जाँदा र जग्गा खरिद गर्दाको सबै ऋण अहिले तरकारी खेतीबाट आएको आम्दानीले तिर्दै आइरहेको छु उनले भने । बजारले राम्रो मूल्य पायो भने र रोग किरा लागेन भने तरकारी खेतीबाट राम्रो आम्दानी हुने खड्काको भनाई छ । आठ वटा प्लास्टिक टनेलमा तरकारी खेती गर्दै आइरहेका खड्काले ४८ र ४६ मिटर लामो दुई वटा टनेलमा मात्र ५ हजार टमाटरका बिरुवा लगाउन सकिने बताए ।  

घरका सदस्यहरूले मात्रले काम गर्न नसक्ने भएकाले खड्काले एक जनालाई रोजगारी समेत दिएका छन् । मासिक १३ हजारका दरले एक जनालाई रोजगारी दिएको उनको भनाई छ । पहिले दुई जनालाई रोजगारी दिएको भए पनि एक जना अर्को काम गर्न जिल्ला बाहिर गएपछि अहिले एक जनालाई रोजगारी दिएको उनको भनाई छ । 

तरकारीसँगै व्यावसायिक भैँसी पालन 

मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेका खड्काले भैँसी समेत पालन गर्दै आइरहेका छन् । ठुला ५ वटा, साना ४ वटा र एक गाई गरी १० गाई भैँसी उनले पाल्दै आइरहेका छन् । 

तरकारी खेतीका लागि मलको आवश्यकता पर्ने भएकाले भैँसी पालन गर्दै आइरहेको उनको भनाई छ । उनले भने ‘तरकारीमा रासायनिक मल भन्दा प्राङगारिक मल प्रयोग गर्ने सोचका साथ भैँसी पाल्दै आइरहेको छु । जसबाट अर्गानिक तरकारी पनि उत्पादन भइरहेको छ अर्को तर्फ दूधबाट पनि आम्दानी भइरहेको छ ।’ 

मानव स्वास्थ्यलाई ख्यालमा राखी आफूले अर्गानिक उत्पादनलाई जोड दिँदै आइरहेको उनले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button