मेलम्चीमा अक्सिजन प्लान्टको औपचारिक उद्घाटन

सिन्धुपाल्चोक । मेलम्चीमा अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गरिएको छ ।
पूर्व मन्त्री शेरबहादुर तामाङले आज प्लान्टको उद्घाटन गर्नुभएको हो ।
मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिब १ करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमताको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै पूर्व मन्त्री तामाङले अब बिस्तारै स्वास्थ्य पहुँच सहज हुँदै गएको बताउनुभयो ।
उहाँले मेलम्ची भेगकै एक मात्र अस्पताल रहेकाले प्रदेश अस्पतालको रुपमा विकसित गर्न पहल भइरहेको जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो ।
दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुने समेत प्रमुख अर्यालले दाबी गर्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्