तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्रिका अवसरमा गृहमन्त्रीद्वारा पशुपतिनाथमा पूजा आराधना

काठमाडौँ । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभएको छ ।

पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

पूजा आराधनापछि उहाँले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । 

बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । 

आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ । 

महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन् ।

आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button