व्यास नगरपालिकाले महिला हाफ र अल्ट्रा म्याराथन गर्ने
तनहुँ । तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर महिला हाफ म्याराथन यही फागुन २४ गते र पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता फागुन २८ गते गर्ने भएको छ ।

व्यास नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी दुवै म्याराथन गर्न लागिएको जानकारी गराएको हो । म्याराथनको लागि तयारी अन्तिम चरणमा रहेको खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि माघ १६ गते सहिद दिवसको अवसरमा व्यासनगर अल्ट्रा म्याराथनको आयोजना गरिने गरेता पनि कोरोनाका कारण स्थगित गरिएकोले पुनः सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
नारी दिवसको अवसर पारेर दमौलीको व्यास गुफा देखि व्यास–११ को तनहुँसुर दरबार सम्म २१ किलोमिटर दूरीको महिला हाफ म्याराथन हुने नगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान नारा दिएर म्याराथन आयोजना गरिएको बताउनुभयो ।
महिला हाफ म्याराथनमा प्रथम पुरस्कार रु.४१ हजार ७८, द्वितीय रु.३१ हजार ७८, तृतीय पुरस्कार रु.२१ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई रु.११ हजार ७८ कर बाहेक प्रदान गरिने व्यास नगरपालिकाकी उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो ।
त्यसैगरी व्यास नगरपालिका–५ मानहुँकोटदेखि व्यास–८ को पुलिमराङ सहिद पार्क सम्मको ४४ किमी दुरीमा हुने व्यासनगर अल्ट्रा म्याराथनमा प्रथम पुरस्कार रु.८५ हजार ७८, द्वितीय रु.६५ हजार ७८, तृतीया रु.५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु.१६ हजार ७८ का दरले प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दुई वटा म्याराथनको लागि रु.२२ लाख बजेट विनियोजन गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । पुरुषतर्फ करिब २ सय र महिला तर्फको म्याराथनमा १ सय ५० धावक सहभागी हुने विश्वास गरिएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्