तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

सप्तरी । सप्तरीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । 

सगरमाथा साहित्य परिषद्को संयोजनमा कञ्चनरुप नगरपालिकाले फागुन २५ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

आज राजविराजस्थित स्टार होटलमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिएको छ । 

यो जिल्लामै पहिलो पटक सबैभन्दा ठूलो राशिको पुरस्कारसहितको वक्तृत्वकला प्रतियोगिता हुने परिषद्का अध्यक्ष मनोहरकुमारले बताउनुभयो ।    

यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा जिल्लाभरिका सबै शिक्षण संस्थाको सिफारिसमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक विद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।

“मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शीर्षकमा व्यावहारिक वक्तृत्वकला हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्त मिश्रले आजका विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरू सङ्कलन गर्ने मनसायले प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button