तपाईँ सुन्दै हुनुहुन्छः

साउथ फिल्मको सिको गर्दै साथीको हत्या

दोलखा।साउथ फिल्मको प्रभावमा साथीको हत्या गर्ने दुई नाबालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ फुलपाका किसिम तामाङका १६ वर्षीय छोरा साहिल तामाङलाई २० वर्षीय पुष्कर थामीले १३ र ११ वर्षको दुई जना साथीसँग मिलेर साउथ फिल्मको सिकोगर्दै हत्या गरेका हुन् ।

शुक्रवार भीमेश्वर नगरपालिका वडा नम्बर ३ जलदेवी मन्दिर नजिक पाखावारी जङ्गलमा बाँदर धपाउन पुगेका स्थानीय महिलाहरू ले हात, खुट्टा र अनुहार छोपिने गरी कपडाको सेतो मेडिकल टेपले बेह्रेर आधि गाडेको अवस्थामा युवकको शव देखेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेको र प्रहरीले उक्त शवको फोटो सामाजिक सञ्जालमा राखेपछि साहिल तामाङको भएको खुलेको थियो ।
प्रहरीको सक्रियतामा शव भेटिएको भोलिपल्टै घट्नामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक गङ्गा प्रसाद पौडेल सहितको अनुसन्धान टोलिले शङ्कास्पद केहीलाई पक्राउ गरी सोधपुछको क्रममा घट्नामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुष्कर थामी सहित तीन जना र मृतक साहिल तामाङ मिल्ने साथी भएकोले प्रायः सधैँ सँगै घुम्ने गरेका थिए । मृतक साहिलले पुष्करको स्पिकर लगेको तर पटक पटक माग्दा पनि नदिएपछि पुष्करले दुई नाबालकसँग साउथ फिल्ममा देखाउने जसरी साहिलको हत्या गर्ने योजना सुनाएका थिए ।

गत फागुन ७ गते शनिवार बिहान साढे १० बजेतिर चारै जना दुई वटा गुलेली बोकेर चरा मार्न भनी उक्त जङ्गलमा गएको र चरा मारेर खाइसकेपछि स्पिकर माग्दा पुष्कर र साहिलको झगडा परेपछि तीन जना भएर उनको हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो ।

तीन जना मध्य पुष्करले मृतक साहिलको दुबै हात कसेर समाएको र दुई नाबालकले गुँसारको एउटै लठ्ठीले पछाडिबाट टाउकोमा प्रहार गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । लट्टीको प्रहारबाट बेहोस भएका साहिललाई पहिलेनै मेडिकलबाट लगेको सेतो कपडाको मेडिकल टेपले हातखुट्टा र मुखमा समेत बेह्रेर जिउँदै खाल्डोमा पुरेका थिए ।

उनीहरू तीनै जना गरिब परिवारको भएको र बेलाबखत चोरी कार्यमा समेत संलग्न पाइएको प्रहरीले जनाएको छ । नाबालकहरू बाट फिल्मी शैलीमा हत्या जस्तो गम्भीर अपराध हुनु र त्यसमा उनीहरूलाई पछुतो समेत नहुनु गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button