तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकाद्वारा पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता

बागमती ।  हेटौँडा उपमहानगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता गरेको छ । 

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा २९९ वटा योजना सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । यो चालु आर्थिक वर्षको कुल योजनाको २४.१७ प्रतिशत हो । 

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक हजार २३७ वटा योजना अगाडि सारेको जनाएको छ । योजना महाशाखाका अनुसार चालु आवको प्रथम त्रैमासिकसहित विगत सात महिनामा २९९ वटा योजना सम्झौता गरेको जनाएको छ ।

 चालु आवको प्रथम तीन महिनामा २०६ योजना सम्झौता भएको सो शाखाका किरण थापाले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाको ठेक्कामार्फत नौमध्ये छ वटा योजना सम्झौता भई निर्माण कार्य अगाडि बढेको र दुई वटा योजना बोलपत्र मूल्याङ्कनमा रहेको सो शाखाले जनाएको छ । नौ योजनामध्ये सात वटा आन्तरिक स्रोतबाट तथा दुई वटा बागमती प्रदेश सरकारसँग समपूरक लगानीको रहेको बताइएको छ । 

रु १० लाखभन्दा कमका योजना सम्बन्धित उपमहानगरपालिकाको वडा कार्यालयले सम्झौता गर्ने भएकाले त्यसको तथ्याङ्क तत्काल उपलब्ध हुन नसकेको बताइएको छ । 

सडक, नाला र पुलसहित अन्य भौतिक पूर्वाधारको विकास निर्माणमा उपमहानगरपालिकाले विशेष जोड दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । 

यसैबीच उक्त उपमहानगरपालिकाले चालु आवको छ महिनामा रु १५ करोड ३१ लाख  ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो रकम सम्पत्ति करसहित विभिन्न शीर्षकबाट असुल भएको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button