काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा उम्मेदवारको मनोनयन दर्ता सुरु
धनगढी । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
धनगढीस्थित काँग्रेस पार्टी कार्यालयमा मध्यान्हबाट उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने निर्वाचन कार्य तालिका रहे पनि प्राविधिक कारणले दुई घण्टा ढिलो गरी सुरु भएको सहायक निर्वाचन अधिकृत लक्ष्मीराज ओझाले बताउनुभयो । अधिवेशनबाट सभापति हित ६९ सदस्यीय जिल्ला कार्य समिति र ३३ जना महासमिति सदस्य चयन हुने उहाँले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ताका लागि दिउँसो ३ः०० बजेसम्म समय तोकिएको छ । नयाँ नेतृत्व चयनका लागी भोलि बिहान ८ बजेदेखि मतदान गर्ने कार्य तालिका रहेको छ । कैलालीमा २५७२ जना प्रतिनिधि रहेका छन् ।
काँग्रेस कैलालीको सभापतिका लागि नेताहरू नारायण भट्ट, प्रकाश बम, रामबहादुर कलेल, भीम बडुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । सभापतिका आकाङ्क्षी चारै जना प्यानलसहित उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको काँग्रेस नेताहरूको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्