तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले सत्ता गठबन्धनमा छलफल गरेर अन्तिम निर्णय लिने

file photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) र सरकारमा रहने नरहनेबारे सत्ता गठबन्धनमा छलफल गरेर अन्तिम निर्णय लिने भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज भएको शीर्ष नेताहरूको बैठकले  एमसीसीका विषयमा पुनः एक पटक सत्ता गठबन्धनका दलहरू सँग छलफल गरेर निर्णय लिनुपर्ने  निष्कर्ष निकालेको  नेता देव गुरुङले जानकारी दिनुभयो ।

नेता गुरुङले नेकपा (माओवादी केन्द्र) ले संशोधन नगरी एमसीसी पारित गर्न नसकिने निर्णय यस अघि नै गरी सेकेको भन्दै संशोधनका विषय र सत्ता गठबन्धनको निरन्तरताका बारेका थप छलफल आवश्यक भएकाले एक पटक सत्ता साझेदार दलसँग छलफल गरिने बताउनुभयो । 

नेता गुरुङले संसद्मा एमसीसी प्रस्तुत भए आफूहरूले विपक्षमा मतदान गर्ने र  सडकमा पनि प्रदर्शन जारी राख्ने बताउनुभयो ।

नेता गुरुङले सरकारबाट बाहिरिने विषयमा भने अहिले निर्णय भई नसकेको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने  माओवादी केन्द्रले  एमसीसीको पक्षमा मतदान नगर्ने भनेपछि  प्रमुख प्रतिपक्षी दल एमाले सँग निरन्तर वार्ता र छलफल  जारी राख्नुभएको छ । 

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संसद्मा दर्ता भएको एमसीसी पास गर्न एमालेले सहयोग गर्ने विश्वास प्रधानमन्त्री देउवाले लिनु भएको छ  ।

एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैली चित्तबुझ्दो नभएको र एमालेबाट अलग भएका सांसदहरूलाई पदमुक्त गर्ने कार्यमा सहयोग गरे एमसीसीमा प्रधानमन्त्रीलाई सहयोग गर्न सक्ने छनक देखाउँदै आएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट एमसीसी पास हुने र सत्ता गठबन्धनको सहयात्राको ठोस निर्णय आउने अनुमान गरिए पनि प्रतिनिधिसभा बैठक आगामी  आइतबार सम्मका लागि स्थगित भए पछि यसबीचमा कस्तो खिचडी पाक्ने हो त्यो भने हेर्न बाँकी छ ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button