दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने
सिन्धुपाल्चोक । नेपाली सेनाको गोरखबक्स गण र भोटेकोसी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगिता हुने भएको छ ।
ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तिमाई र दुगानागढीको प्रचारप्रसार एवम् संरक्षण गर्ने उद्देश्यले ट्रेल रेसको आयोजना गर्दै आएको हो ।
भोटेकोसी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहादेखि लिस्तीकोट हुँदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस प्रतियोगिता यो वर्ष फागुन २१ गते हुने गोरखबक्स गण, चौताराले जनाएको छ ।
ट्रेल रेसमा देशभरका खेलाडीहरू सहभागिता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल तिब्बतबीच पहिलो पटक सन १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौजहरु लडाइमा गएको इतिहासमा उल्लेख छ ।
लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ ।
ऐतिहासिक एवम् सामरिक महत्त्वको क्षेत्र भए पनि त्यसको संरक्षण र उचित प्रचार प्रसार नभएको भन्दै नेपाली सेनाले यस अघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणका लागि विविध कार्य गर्दै आएको छ ।
ऐतिहासिक महत्त्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दौडको बाटोमार्फत वर्तमान र भावी पुस्तालाई इतिहासको जानकारी दिने उद्देश्यले गत वर्षबाट प्रतियोगिता आयोजना गरिएको गणपति श्रेष्ठको भनाई छ ।
ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लावासी गरेर तिन विधा समावेश गरिएको छ ।
खुल्लातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार, तेस्रो ५५ हजार, चौथो ४० हजार, पाँचौँ ३० हजार र छैटौँ पुरस्कार नगद २० हजार रुपियाँ रहेको छ ।
त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पाउनेछन् ।
जिल्लावासीको लागि भने पहिलो हुनेले नगद ३० हजार, दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउनेछन् ।
ट्रेल रेस प्रतियोगीतामा सहभागी हुने खेलाडीहरूले फागुन १९ गतेसम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरूलाई अनुरोध गरेको छ । दर्ता निःशुल्क हुने र सिन्धुपाल्चोकस्थित नेपाली सेनाको चौतारा ब्यारेक, जलेटार ब्यारेक, बाह्रबिसे, झिर्पु र लामोसाँघु ब्यारेकमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।
सम्भावित जोखिमलाई मध्य नजर गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले प्रतियोगिताको अवधिभरमा मात्र लागु हुने गरी रु पाँच लाख बराबरको बीमाको व्यवस्था पनि गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्