वडाध्यक्षले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

उदयपुर । उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल कुमार चौधरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय कुमारीचोक बस्ने बर्ष ५३ को रामचन्द्र चौधरी (थारु) रहेका छन् । वडाध्यक्ष चौधरीले चलाएको स.१ ब. ८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ ।
किटानी जाहेरीमा उल्लेख भएअनुसार दुर्घटना गाईघाट–कदमाहा खडकखण्ड अन्तरगत त्रियुगा नगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कुमारीचोकमा भएको थियो । बुधवार राति भएको दुर्घटनामा गम्भीर घाइते भएको चौधरीको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि रेफर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताउनुभयो ।
एसपी बोहोराका अनुसार रेफरपछि विराटनगरतर्फ लाने क्रममा चौधरीको बाटोमा मृत्यु भएको थियो । अहिले वडाध्यक्ष चौधरी विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका छन् भने मृतक चौधरीको शव जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्