तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमाथि रसियाले थाल्यो आक्रमण, रसियाली कदमको चौतर्फी विरोध

Russian T-72B3 main battle tanks ride through Red Square during the Victory Day military parade in Moscow on May 9, 2017. Russia marks the 72nd anniversary of the Soviet Union’s victory over Nazi Germany in World War Two. / AFP PHOTO / Natalia KOLESNIKOVA (Photo credit should read NATALIA KOLESNIKOVA/AFP/Getty Images)

काठमाडौँ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गर्नु भएको छ । 

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ । 

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुहरूको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । 

रसियाले अहिले युक्रेनको पूर्वी भागमा रहेका तिनै क्षेत्रलाई केन्द्रित गरी सैनिक अपरेसन थालेको बताउँदै आएको छ, तर रिपोर्टहरूमा पूरै युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको समाचार छ । युक्रेनसँग रहेको सेनाले रसियाली आक्रमण झेल्न कठिन हुने न्यूयोर्क टाइम्सले लेखेको छ । न्यूयोर्क टाइम्सका संवाददाताहरूले अमेरिका र नेटोले युक्रेनलाई उपलब्ध गराएको सीमित हातहतियार र तालिमले रसियाली आक्रमणको प्रतिरोध गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् । 

रसियालाई चिढ्याउन र युक्रेनमाथि आक्रमणका लागि उक्साउन एउटा कारक मानिएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को गतिविधि पनि हो । 

युक्रेनको पछिल्लो राजनीतिक नेतृत्वले पश्चिमा मुलुकको सैनिक गठबन्धनका रुपमा परिचित नेटोको सदस्य बन्न तीव्र इच्छा जनाउँदै आएको छ, र पश्चिमा सञ्चार माध्यमहरूले अधिकांश युक्रेनी जनता नेटोको सुरक्षा छाता मातहत रहन चाहेको समाचार प्रसार गरिरहेका छन् । 

तर रसियाले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यो रसियासँगको विगतको सम्झौता विपरीत हुने र त्यसले रसियाकै अस्तित्व सङ्कटमा पर्ने बताउँदै आएको थियो । त्यही कारण, राष्ट्रपति पुटिनले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिँदै आउनु भएको वर्षौँ भइसक्यो ।

खासगरी, रसियासँग लामो सम्बन्ध रहेका पूर्वी युरोपेली मुलुकहरूमा नेटोको सदस्यतालाई लिएर रसिया र पश्चिमा मुलुकबीच निरन्तर विवाद चुलिँदै गएको छ । कुनै समय रसियाका राज्यहरू रहेका इस्टोनिया, लिथुआनिया र लाट्भियाले नेटोको सदस्यता लिइसकेका छन् भने पोल्यान्ड, रोमानीया र अरू कतिपय पूर्वी युरोपेली मुलुकहरू नेटोमा आबद्ध भइसकेका छन् । रसिया विरोधी सैनिक गठबन्धनका रुपमा खडा भएको नेटो अहिले युक्रेन हुँदै रसियाको सीमा नजिक पुगेको छ । 

रसियाका लागि पश्चिम र पूर्वी युरोपसँगको सम्पर्क र व्यापारका लागि युक्रेनको महत्त्व धेरै छ । आफ्नो मुलुकबाट इन्धन ९ग्यास, खनिज तेल० को व्यापारका लागि युक्रेनी भूमिको प्रयोग रसियाका लागि अपरिहार्य झैँ छ । यस्तो अवस्थामा युक्रेनमा नेटो गठबन्धनको व्यापक उपस्थिति भएमा कालान्तरमा रसिया घेराबन्दीमा पर्ने खतरा राष्ट्रपति पुटिनको छ । 

तर, रसियाबाट अलग्ग भएर स्वतन्त्रता प्राप्त गरेको झण्डै तीन दशकपछि युक्रेनमाथि रसियाले पुनः आक्रमण गर्ला भन्ने धेरैले कल्पनासम्म गरेका थिएनन् । तर अहिले ६९ वर्षीय रसियाली राष्ट्रपति पुटिनको महत्त्वाकाङ्क्षा बढेको छ, र राष्ट्रपति पुटिनका कदमहरूले समकालीन विश्वमा नयाँ त्रासको अवस्था सिर्जना गर्दैछ । पश्चिमा राष्ट्रहरू र रसिया–चीनका कारण विश्व राजनीति फेरि ध्रुवीकरण तर्फ अग्रसर हुन लागेको आभास हुन थालेको छ ।

कुनै पनि शक्ति राष्ट्रले साना राष्ट्रहरूलाई संरक्षण गर्नुपर्ने हो । तर, ठुला महाशक्ति राष्ट्रहरू नै साना राष्ट्रलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु विडम्बना नै हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भावुक हुँदै राष्ट्रपति पुटिनसमक्ष युद्ध रोक्न र सैनिकहरू युक्रेन नपठाउन आग्रह गर्नु भएको छ । “त्यहाँ पहिल्यै धेरैले जीवन उत्सर्ग गरिसकेका छन् । अब अझै रगत बगाउन दिनु हुँदैन र शान्तिको एउटा मौका दिनुहोस् ।”

गोप्य सूचनाहरूको हवाला दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा आक्रमण गर्ने योजना बनाइसकेको र रसियाले त्यो दिनको पर्खिरहेको बताउँदै आउनु भएको थियो । आक्रमणको घोषणा गरिएको खबर पाए लगत्तै राष्ट्रपति बाइडेनले राष्ट्रपति पुटिनले मानवीय क्षति र पीडा निम्त्याउने एउटा असफल योजनाबद्ध युद्ध रोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नु भएको छ । युक्रेनमा हुने मानवीय र भौतिक क्षतिका लागि रसिया दोषी ठहरिने छ, र त्यसलाई विश्वले कहिल्यै माफ नगर्ने राष्ट्रपति बाइडेनले भन्नु भएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अहिले आफ्ना जनतालाई धैर्य गर्न र रसियाली आक्रमणको डटेर प्रतिकार गर्न आह्वान गर्नु भएको एएफपीले जनाएको छ । 

उहाँले रसियाका झण्डै २ लाख सैनिक हातहतियार सहित युक्रेनभित्र प्रवेश गर्न लागेको बताउनु भएको छ । युक्रेनको राजधानी सहित पूर्वी युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्फोटका आवाज सुनिएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

युक्रेनमाथि भएका हमलाहरूको फ्रान्स, इटाली, जापान, अस्ट्रेलिया, जर्मनी, बेलायत समेतका युरोपेली युनियनमा आबद्ध मुलुकहरूले कडा शब्दमा निन्दा एवं भर्त्सना गरेका छन् । उनीहरूले रसियामाथि कडा प्रतिबन्धहरू घोषणा गरिने बताएका छन् । विगतमा समेत विभिन्न प्रतिबन्धहरू झेल्दै आएको रसियाले फेरि नयाँ प्रतिबन्धहरूको सामना गर्नुपर्ने ती राष्ट्रले घोषणा गरेका छन् । 

नाकाबन्दीका लागि युक्रेनी आह्वान
रसियाले एक स्वतन्त्र मुलुकमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी जबरजस्ती युद्ध गरिरहेको जनाउँदै युक्रेनले रसियामाथि अन्तर्राष्ट्रिय जगतबाट कठोर नाकाबन्दी लगाउन आह्वान गरेको छ । 

राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्दै आफूले सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेताहरूसँग बिहीबार बैठक गर्न लागेको र बैठकले रसियामाथि कठोर प्रतिबन्धहरू लगाउने बताउनु भएको छ । 

युक्रेन र युक्रेनी जनतालाई सबै किसिमको सहायता गर्न अमेरिकी गठबन्धन मुलुकहरू तयार रहेको पनि बाइडेनले बताउनु भएको थियो ।

युक्रेनी युद्धको असर
युक्रेनमा रसियाले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ । एसियाली शेयर बजार पनि केही घटेको छ ।(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button