तपाईँ सुन्दै हुनुहुन्छः

रामपुर अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

पाल्पा । पाल्पाकै सबैभन्दा ठूलो सरकारी अस्पताल रामपुर अस्पतालमा विशेषज्ञ सेवा सहित चिकित्सक उपलब्ध हुन नसक्दा उपचारका समस्या उत्पन्न भएको छ ।

पटक पटक दरबन्दी अनुसारको चिकित्सक पाउने आश्वास पाएपनि अस्पतालमा विशेषज्ञ सेवा सहित चिकित्सक उपलब्ध नभएपछि स्थानीयहरूले सास्ती खेप्नु परेको हो ।

१५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रबाट २०७२ सालमा रामपुर अस्पतालमा परिणत गरिएको थियो । ठूलो जनसङ्ख्यालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गरिए पनि लामो समयसम्म विशेषज्ञ सेवा दिने चिकित्सक खाली छन् । विशेषज्ञ सेवा दिने उद्देश्यले नौ जना डाक्टरको दरबन्दी भए पनि हालसम्म दरबन्दी अनुरूप डाक्टर छैनन् ।

अस्पतालका प्रशासन प्रमुख हिराबहादुर विश्वकर्माका अनुसार अस्पतालमा मेसु जनरललिष्ट एक जना,प्रसूति,बाल,रेडियोलोजीस्ट,जनरल फिजिसियन,एनएसथेथियसलोजिष्ट कन्सल्टेन्ट सर्जन,अर्थो सर्जन,मानसिक रोग विशेषज्ञको दरबन्दी अहिलेसम्म उपलब्ध हुन सकेको छैन । गत वर्ष लुम्बिनी सरकारका सामाजिक विकास मन्त्रीसँग अस्पतालको समस्या राखेको भए पनि अहिलेसम्म कुनै व्यवस्था हुन नसकेको उहाँले बताउनुभयो ।

\अस्पतालको क्षमता ५० शैयाको छ । यो अस्पताल रामपुरनगर क्षेत्रको मात्र नभई जिल्लाको पूर्वी क्षेत्र साथै स्याड्डजा तनहुँ नवलपरासीबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी तथा रोगी उपचारको लागी आउने अस्पताल हो ।
सङ्घीय सरकारलाई महिनामा दुई पटकसम्म दरबन्दी अनुरूपको डाक्टर पठाउन आग्रह गर्दै पत्र पठाउने काम गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वासुदेव भट्टराईले बताउनुभयो ।

अस्पतालमा विशेषज्ञ सेवाको लागी पटक पटक स्थानीय सरकारको तर्फबाट सङ्घीय,प्रदेश सरकार समक्ष लिखित,मौखिक रुपमा पटक पटकपहल गरेको भए पनि अहिले दुवै तहका सरकारबाट मौखिक आश्वासन बाहेक केही नपाएको नगर प्रमुख रमण बहादुर थापा बताउनुहुन्छ ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु भए पनि त्यससँग सम्बन्धित विशेषज्ञ डाक्टर र स्रोत साधनसमेत उपलब्ध हुन नसक्दा दैनिक दुई देखि चार जनासम्म तानसेन स्थित युनाइटेड मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा जानु पर्ने बाध्यता छ ।
अस्पतालमा ७२ जना कर्मचारी छन् । जस मध्ये ९ जना मात्र स्थायी रहेका छन् । ६३ जना अस्थायी करार कर्मचारीले सेवा दिइरहनु भएको अस्पताल प्रशासनले जनाएको छ । विशेषज्ञ चिकित्सक नभएकै कारण अस्पताल आएका बिरामीहरूलाई उपचारको लागी तानसेन,पोखरा,बुटवल र काठमाडौँ पठाउन अस्पताल बाध्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button