प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सम्बन्धमा छलफल

काठमाडौँ ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
मङ्गलवार साँझ करिब डेढ घण्टा भएको भेटमा उहाँहरूबिच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत समसामयिक राजनीतिक विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई, तपाईँले संसद्मा दर्ता गराउनुभएको एमसीसीसम्बन्धी प्रस्ताव आफूले सदनमा टेबुल गरेको भन्दै अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । अनुमोदनका लागि समय कम भएकाले संसद् सञ्चालन गर्न र अनुमोदनमा समर्थन गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।
सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउन प्रयास जारी राखेको छ ।
भेटमा काँग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी पेश भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई अनुमोदन गराउन घनीभूत छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्