कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणका लागि चितवनमा कृषि प्रदर्शनी
चितवन । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण भित्र्याउन चितवनमा फागुन १३ गतेदेखि कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा उक्त प्रदर्शनी हुने भएको हो । प्रदर्शनीको उद्घाटन बागमती प्रदेश कृषि मन्त्री वसुन्धरा हुमागाईँद्वारा हुने आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनी चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्ने आयोजक संस्थाका सञ्चालक प्रताप विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरूका स्टलहरू रहने छन् ।
कृषिका नवीनतम औजार, थोपा सिचाई, विषादी रहित कृषि उपकरण, केराखेती, कुखुरा पालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायतका विषयमा प्रदर्शनी केन्द्रित रहने उहाँले बताउनुभयो । प्रदर्शनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधि लगायत कृषकहरूले आधुनिक प्रविधिहरूको अनुसरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने ठुला उपकरणहरू प्रदर्शन गरिने उहाँले बताउनु भयो । नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी गर्ने उद्देश्यसहित प्रदर्शनीको आयोजना गरिन लागेको उहाँको भनाई छ ।
प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनु भयो । प्रदर्शनीमा कृषकहरूलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरूका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिइने उहाँको भनाई छ । किसान तथा कृषि व्यवसायीलाई लक्षित गर्दै मेला आयोजना गरिएको हो । मेलामा निःशुल्क पासको व्यवस्था गरिएको छ ।
प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्