तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालको पानी पाँच करोड लिटर घटाउने तयारी

कास्की । पोखरा फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले एक सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो ।

सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर यही कल्भर्टबाट बग्छ । पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलेजस्तो सुख्खा हुने गरी सतह घट्दैन । ‘२० सेन्टिमिटर जति बाँध खोल्ने तयारी रहेको छ  । यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उहाँले भन्नुभयो, ‘कल्भर्टको काम सकिने बित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन ।’

यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो । तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ । ‘बढेको पानी फाल्ने हो । अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्नुहुन्छ, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ ।’

ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फास्ट ट्र्याकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button