नियन्त्रणमा लिइएको अवैध सामान भन्सार बुझाइयो

पर्सा । भन्सार राजश्व छली अवैध रुपमा भारतबाट नेपाल भित्राएको सामानहरू सशस्त्र प्रहरीले आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगंज अपौनीको एक गोदाममा लुकाई छुपाई राखेको २४ पोका कपडा सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टको टोलीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनु भयो । उक्त पोकामा रु १६,२३,८७०।– मूल्य बराबरको भेलभेट कपडा, सुती सारी, नेट सारी र सटिङ्ग लगायतका कपडाहरू रहेको बताइएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. २ डम्पिङ्ग साइड एरियामा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. सिर्सियाबाट खटिगएको सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको टोलीले अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको करिब रु १,४०,५३०।– बराबरका टेन्टको कपडा, किराना सामान बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।यसै बीच भारतबाट अवैध रुपमा भित्र्याइएको करिब रु ६२,४८०।– बराबरको इलेकट्रोनिक्स तथा मोटर पार्टसका सामानहरू सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अलौबाट खटिगएको टोलीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्