सत्ताघटककै कार्यकर्ताबाट आन्दोलन भएकामा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ती प्रकट गर्नुभएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताउनुभयो । उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताउनुभयो । आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो ।
अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ ।
सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पु¥याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो । अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुभएको नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।
ओलीले प्रधनमन्त्री हुँदा नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासो दिइ सरकारका तर्फबाट स्काउट अभियानलाई देशैभरी विस्तार गर्न नीतिगत तथा आर्थिक सहयोग गराउनुभएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनाका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम शुरु गर्नुभएको थियो । पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने सबै विद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्