तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको सदरमुकाम लगायत उच्च भेगमा हिमपात

दोलखा । दोलखाको उच्च हिमाली तथा पहाडी भेग कालिन्चोक, सैलुङ, खरीढुङ्गा, खावाडाँडा सहित सदरमुकाम चरिकोटमा समेत हिमपात भएको छ ।

दोलखाको कालिन्चोकमा आइतबार अपराह्न १२ बजेबाट अत्यधिक हिमपात भइरहेको कालिन्चोक केबलकारका इलेक्ट्रिसियन सुशान्त ढुङ्गाना केसीले बताए । अत्यधिक हिमपातले ३८४२ मिटरको उँचाइमा रहेको कालिन्चोकको सबैतिर सेताम्मे भएको छ । मानिसले सडक पहिल्याउन समेत कठिन भएर बाटोमै अलपत्र परेका छन् – केसीले भने । अलपत्र परेका केहीलाई केबुलकारको टिम र कुरीका स्थानीय व्यवसायीहरूको सहयोगमा उद्धार गरिएको उनले बताए ।

पुस– माघमा चार पटक भन्दा बढी हिमपात भएको कालिन्चोकमा आइतबार अपराह्न १२ बजेबाट लगातार हिमपात भएकोले दुई फिटभन्दा बढी हिउँ जमिसकेको कुरीका व्यवसायीहरूले बताए । कालिन्चोकमा पुगेका पर्यटकहरू अहिले चिसोले समस्यामा परेको भए पनि हिउँसँग रमाइरहेको कुरीका होटेल व्यवसायीहरू बताउँछन् । कालिन्चोकमा यातायात भने ठप्प भएको छ ।

सिन्धुपाल्चोकको सिमाना मूडे– खरीढुङ्गामा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन् । लगातार हिमपात भइरहे पनि दोलखा लगायतका जिल्लामा आउने यातायात भने अवरुद्ध नभएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । त्यसैगरी सैलुङ क्षेत्रमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम चरिकोटमा पनि हिमपात
आइतबार सदरमुकाम चरिकोटमा पनि हिमपात भएको छ । साँझ ५ः ३० बजेबाट केही समय हिमपात भएको थियो । हिमपातका कारण बजार क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।

१९७० मिटरको उँचाइमा रहेको सदरमुकाम चरिकोटमा यो बर्ष आइतबार दोस्रो पटक हिमपात भएको हो । यस अघि माघको अन्तिम साता पनि चरिकोटमा हिमपात भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button