राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: मकवानपुरका २९ विद्यालय छनोट
मकवानपुर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका २९ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् ।
छनोटमा परेकामध्ये २८ विद्यालयमा आइसिटी ल्याब, एक विद्यालयमा प्राविधिक ल्याब र एक विद्यालयको भवन निर्माण हुने भएको हो ।

विद्यालयको प्रस्तावना तथा स्थानीय तहको सिफारिसको आधारमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले ती विद्यालयहरूको विवरण शिक्षा विभागमा पठाएको थियो । ती मध्ये २९ वटा विद्यालय छनोट भएका हुन् ।
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयमा कार्यक्रम लागु हुने भएको छ । हेटौँडाको आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रलाई चार कोठे भवन निर्माण गर्न ३६ लाख प्राप्त भएको छ । यस्तै हेटौँडाको प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविमा आइसिटी ल्याब स्थापनाका लागि छनोटमा परेका हुन् । यी सबै विद्यालयले ६ लाख ५० हजार रुपैयाँका दरले रकम पाउने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत जिल्लाको थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्द भैरव मावि आइसिटी ल्याब स्थापनाका लागि छनोटमा परेका छन् । यस्तै बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता मावि, बकैया गाउँपालिकाको कर्म प्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघ भैरव मावि, कालिका मावि, कालीदेवी मावि, कैलाश गाउँपालिकाको कालिका मावि, इन्द्र सरोबर गाउँपालिकाको पञ्चकन्या मावि, भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँट र मनहरिको युवा वर्ष आधारभूत विद्यालय छनौटमा परेको उहाँले बताउनुभयो ।
यस्तै जिल्लाको मकवानपुरगढी गाउँपालिकाको प्राविधिक शिक्षालय समेत सञ्चालन गरेको बंशगोपाल मावि छनोटमा परि प्राविधिक ल्याब स्थापना गर्न १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ भने मकवानपुरगढीकै जनक मावि आइसिटी ल्याब स्थापनाका लागि छनोटमा परेको छ । जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाको भने कुनै पनि विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेको छैन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत देशभरका चार हजार एक सय ५७ सामुदायिक विद्यालय छनोट भएका छन् । छनौट भएकामध्ये चार कोठे भवन नौ सय ७६, दुई कोठे भवन नौ सय ६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार एक सय ६, प्राविधिक ल्याब ८८ र २१ वटा नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्