वाणिज्य कार्यालय पर्साद्वारा ७ महिनामा १ सय ६२ वटा पसललाई कारबाही

बीरगंज । दैनिक उपभोग्य वस्तुको शुद्धता तथा गुणस्तरप्रति उपभोक्ता सचेत नहुँदा मिसावट र गुणस्तरहीन वस्तुको बिक्री वितरण फस्टाउँदै गएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, वीरगंज उद्योग वाणिज्य सङ्घ सहितको टोलीले उपभोक्तालाई ठगी गरेको आरोपमा आर्थिक बर्ष २०७८÷०७९ मा बारा, पर्सा, चितवन, मकवानपुरसहित १० जिल्लामा १ सय ६२ वटा पसललाई कारबाही गरेको छ ।
मिसावट र गुणस्तरहीन वस्तुको प्रयोगलाई उपभोक्ताले सामान्य ढङ्गले लिने प्रचलन बढ्दै गएको र यसले मानव जीवनमा खतरा बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
अहिले सर्वसाधारण उपभोक्ताले प्रयोग गर्ने खाद्य पदार्थ सँगै साबुन, स्याम्पुलगायत तेल, मह, मदिरा, सुर्तीजन्य वस्तु गुट्खा, पानपराग, खैनीलगायतका वस्तुमा मिसावट देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले बताउनुभयो ।
पर्सामा मात्रै चालु आर्थिक वर्षको ७ महिनामा गुणस्तरहीन सामान बिक्री गर्ने, कालाबजारी गर्ने, उपभोक्तालाई ठगी गर्ने ९५ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।
दैनिक भान्सामा प्रयोग हुने बेसार, दाल, चामल, पिउने पानी, खाने तेल, दूध, मह, घिउ तथा रेस्टुराँमा बन्ने परिकार र मिठाई लगायतका वस्तुमा पनि मिसावट देखिएको पौडेलले दाबी गर्नुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रवक्ता खत्वेले विभागको निर्देशनमा विशेष गरी चाडपर्व र बेला मौकामा बजार अनुगमन हुने र अरू बेला सुराकी तथा उजुरीका आधारमा प्रहरीसँग सहकार्य गरी अनुगमन हुने गरेको बताउनुभयो ।
उहाँले आम उपभोक्ता सचेत भएमा मिसावट तथा ठगी गर्नेलाई कारबाही गर्न सहज हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
वाणिज्य कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्तालाई ठगी गर्ने, मिसावट गर्ने, गुणस्तरहीन सामान विक्री वितरण गर्ने पर्सामा ९५ पसल, बारामा १३, रौतहटमा १०, चितवनमा १६, सर्लाहीमा ९, महोत्तरीमा १२ र सप्तरीमा ७ वटा गरी १ सय ६२ वटा पसलमा छापामारी कारबाही गरिएको छ ।
सो क्रममा १० लाख ९९ हजार जरिवाना समेत असुल भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रवक्ता खंग खत्वेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्