तपाईँ सुन्दै हुनुहुन्छः

बालकुमारी माताको मूर्ति चोरी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्बिर

काठमाडौँ ।  गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालकुमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरी गर्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । 

शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनः स्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

 “सार्वजनिक सम्पत्तिको खोजीनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस् । मूर्ति चोरी गर्ने चोरहरू कारबाहीमा परुन्, म गृह मन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,” गृहमन्त्री खाँणले भन्नुभयो, “मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले कार्य योजना बनाउनुहोस् ।” 

उहाँले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सतर्कताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । 

माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि  माघ २८ गते भेटिएको थियो ।

गृहमन्त्री खाँणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । 

“नेपाल विविधताले भरिपूर्ण छ । जातीय विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधता, हावापानीमा विविधता नेपालमा छ । यो विविधताबीच हामी सबै एकताका साथ अगाडि बढ्नुपर्छ ।”, उहाँले भन्नुभयो ।  

उहाँले नेपालका परम्परा, रीतिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाधेका बताउनुभयो । उहाँले नेपालीले आफूले अवलम्बन गर्ने धर्म र अर्काले अवलम्बन गर्ने धर्मप्रति पनि सम्मान गर्ने क्षमता राख्ने बताउनुभयो । 

“हामी आफूले अवलम्बन गर्ने धर्मप्रति पनि सम्मान प्रकट गर्दछौँ । अरूले अवलम्बन गरेको धर्मलाई पनि हाम्रो सम्मान रहेको छ । धार्मिक सद्भावलाई बचाउन र खलबलिन नदिन हामी सबै जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो ।

गृहमन्त्री खाँणले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधैँ सतर्क र संवेदनशील रहेको बताउनुभयो । 

कार्यक्रममा ऊर्जा मन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button