तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिकाको गौरवको योजना निर्माणाधीन ग्रिनसिटि पार्क गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । 

काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरको सहयोगमा निमार्ण हुन लागेको पार्क बाढीले बगाएपछि अहिले पार्कमा गर्ने लगानी महानगरले मेलम्ची १ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको हो ।

काठमाडौँ महानगरपालिकाले आ.व.२०७७/०७८ को स्वीकृत बजेट अन्तर्गत नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्न सम्झौता गरेको एक करोड पचास लाख रुपैयाँ अनुदान मेलम्ची नगरपालिका १ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो ।

मेलम्ची बाढीले प्राविधिक रुपमा सम्झौता अनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्ची नगरपालिकाको आग्रह अनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । 

१६ करोड अनुमानित लागतमा  पर्यटकीय स्थल भोटेचौरमा विभिन्न स्थानमा पार्क, खाल्टे–ठुलो ढुङ्गा तथा केदार मन्दिरबाट पातल गुफा पैदल मार्ग, सवारी पार्क, ठाउँ ठाउँमा बुद्ध, शिव मूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा पार्क पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापन लगायतका काम हुने मेलम्ची नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्ण चौलागाँईले जानकारी दिनुभयो । 

मेलम्ची नगरको निवेदन अनुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकिकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रस्तावित डिजाइन स्पेसिफीकेसन र लागत अनुसार निर्माण कार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो । 

काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button