गोरखाको लाप्राकमा मकै विवाह सम्पन्न

गोरखा । विवाहको लगन मौका पारी गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा मकै विवाह पर्व मनाइएको छ ।
मकैको बिहे नगरी बारीमा रोप्न नहुने धारणा यस क्षेत्रका नागरिकहरूमा रहेको छ । यस वर्ष समयमै मकै बिहे भएको कारण चाँडो गरी मकै रोप्नेहरूका लागि सहज भएको वडा अध्यक्ष राज गुरुङ बताउँछन् । मकै बिहेमा गाउँभरिका नागरिकहरू जन्त जाने मकैबाट बनेका परिकारहरू खाने गर्दछन् ।
विधिवत रुपमा मकैको पूजा गरी बिहे गरेपछि मकै रोप्ने कार्य सुरु हुन्छ । यस क्षेत्रको मुख्य बालीको रुपमा मकै रहेको छ ।
प्रकृति अर्थात् वोन धर्माबलम्बीहरुका पुजारीले मकै बिहेमा पुजारीको काम गर्दछन् । विवाहका दिन सबेरै गाउँका मानिसहरू लाप्राक स्थित ठूलोआँगनमा भेला हुन्छन् । सिँगारिएका बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासँगै जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जङ्गलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँ परिक्रमा गर्छन् ।
जन्ती जाने क्रममा प्रत्येक घरका मानिसहरूले घरमा रहेको सबै भन्दा ठूलो घोगा मकै लिएर जानुपर्दछ । जन्तीले ल्याएका मकैलाई एकै ठाउँमा जम्मा गरेर चोख्याइन्छ र साँझ नाचगान गरी उक्त मकै भुटेर खाने चलन रहेको छ । पहिलेदेखि चलिआएको संस्कृति भएकाले बर्सेनि मनाउने गरिएको वडा अध्यक्ष गुरुङको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्