तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका ४८ प्रतिशत बालबालिकाले लगाए कोरोना खोपको पहिलो मात्रा 

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशमा १२ वर्षदेखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाइएको बताउनुभएको छ ।  

शुक्रवार हेटौँडामा आयोजित कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा उहाँले हालसम्म प्रदेशका ४८ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको बताउनुभयो ।  
मन्त्री लामाले प्रदेश राजधानी हेटौँडाबाट खोप अभियानको सुरु भएपछि हालसम्म प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्रा र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताउनुभयो । 

खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको, समुदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको सङ्ख्या वृद्धि भइरहेको उहाँले बताउनुभयो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगले मानवीय क्षति मात्र नभई अर्थतन्त्रमा समेत क्षति पुगेको बताउँदै मन्त्री लामाले कोभिडको नभई अन्य सर्ने नसर्ने रोग नियन्त्रण गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । 

उहाँले सरकार स्वास्थ्य क्षेत्र सुधार गर्न कटिबद्ध रहेको र स्वास्थ्यको पूर्वाधारमा पनि सुधार ल्याउन लागिपरेको बताउनुभयो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरकाबीच खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण र व्यवस्थापन, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, मास्क अभियान जस्ता विभिन्न कार्यक्रमहरू भएको बताउनुहुँदै यी कार्यहरू गर्न निजी क्षेत्र तथा सामाजिक सङ्घ र संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख भीमसागर गुरागाईँ, हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, राष्ट्रिय बाल संरक्षण सञ्जालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासङ्घ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा विचार व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button