बुबाको नाममा ६ वटा विद्यालयमा अक्षयकोष स्थापना

दोलखा । जिल्ला समन्वय समिति दोलखाका सदस्य एवं युवा समाजसेवी विदुर शर्माले आफ्नो स्वर्गीय बुबा हरिशङ्कर उपाध्यायको नाममा दोलखाको मेलुङ गाउँपालिकामा रहेका विभिन्न ६ वटा विद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी मावि र वडा नम्बर ६ मा रहेको त्रिभुवन माविमा एक लाख ५० हजार र अन्य चार वटा विद्यालयमा एक लाख पाँच हजारको अक्षय कोष स्थापना गरेको विदुर शर्माले बताउनुभयो । उक्त अक्षयकोषको ब्याजबाट विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको विद्यालयहरूले जनाएको छ ।

समाजसेवी शर्माले आफ्नो बुबाको १२ औ पुने तिथिको अवसरमा बुधवार वडा नम्बर ३ को लक्ष्मी मावि कक्षा एक देखि १२ सम्म अध्ययन गर्ने एक सय ८० जना विद्यार्थीलाई ट्रयाक, २० जना विद्यार्थीलाई झोला, २० जना विद्यार्थीलाई स्टेशनरी सामग्री तथा विद्यालयलाई २० हजार नगद र खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको छ ।
त्यसैगरी वडा नम्बर २ को कालिका माविका २० जना विद्यार्थीलाई नगद पाँच सयको दरले १० हजार, २० जना विद्यार्थीलाई झोला र २० जना विद्यार्थीलाई स्टेशनरीको सामान हस्तान्तरण गरेको शर्माले बताए । स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले लक्ष्मी मावि र त्रिभुवन माविमा लाइब्रेरीको लागि समेत सहयोग गरेको छ ।
मेलुङ गाउँपालिकामा ११ वटा विद्यालय रहेको र निकट भविष्यमै सबै विद्यालयमा स्व. हरिशङ्कर उपाध्याय अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको समाजसेवी विदुर शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्