पर्साका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण

बीरगंज । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै पर्सा जिल्लामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले मतदान केन्द्रहरूको स्थलगत अवलोकनलाई तीव्रता दिएको छ ।
जिल्ला सुरक्षा समिति, पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा पर्सा जिल्लाको ठोरी, धोबिनी, विन्दवासिनी, जगरनाथपुर, कालिकामाई, पकहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई गाउँपालिका र पोखरीया नगर पालिका सहितका ९ वटा स्थानीय तहमा रहेका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।
अब एक दुई दिन भित्रमा बीरगंज महानगरपालिकाका मतदान केन्द्र तथा बहुदरमाई र पर्सागढी नगरपालिका, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा रहेका मतदान केन्द्रको समेत स्थलगत अवलोकन गरिने बस्नेतले बताउनुभयो ।
स्थलगत अवलोकनको क्रममा अधिकांश मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको र केहीमा कम्पाउण्ड बाल नभएको र त्यहाँ बनाउनुपर्ने अवस्था रहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा स्थितिलगायतका विषयमा स्थानीय राजनीतिक दलसँग अन्तरक्रिया समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीमा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, वीरगंज ब्यारेकका प्रमुख सेनानी मनोज कार्की लगायत सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्