आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्री श्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ सदनमा पेस गर्नुभएको हो ।
आफूले कारबाही गरेका सांसदहरूको सूची प्रकाशन नगरेको भन्दै सभामुखको भूमिकालाई लिएर सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी विरोधका बीच आयोगको प्रतिवेदन पेस भएको हो ।
बैठक सुरु गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै बेल घेराउ गर्नुभएको थियो ।
प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोधका कारण सभाका नियमित काम कारबाहीहरू प्रभावित भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
आजको बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक बर्ष २०७७/०७८ प्रतिवेदन पेस गर्ने एक मात्र कार्यसूची रहेको थियो ।
अर्को बैठक फागुन ८ गते आइतबार दिउसो १ः००बजे बस्ने गरी स्थगित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्