मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ गर्ने प्रहरी सर्वोत्कृष्ट प्रहरी घोषित

सुनसरी । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उहाँहरूको टोलीले आर्थिक कारोबारको विवादले हत्या गरी मोरङ धनपालथान गाउँपालिकास्थित उखु बारीमा दुई वटा मृत लाश गाडिएको र ललितपुर गोदावरीस्थित गोदाम घरमा गाडेको अवस्थामा मृत लाश समेत उत्खनन गरी घटनाका सूक्ष्म अध्ययन गरी प्रतिवादीहरू पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल हुनु भएको थियो ।
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका कारण उहाँहरूको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०७८ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्