तपाईँ सुन्दै हुनुहुन्छः

ओडब्लुएसडी फेलोसिपबाट पाँच जना नेपाली महिला वैज्ञानिक पुरस्कृत

काठमाडौँ । संसारका उत्तम युवा महिला वैज्ञानिकहरूले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी) फेलोसिपबाट पाँच जना नेपाली महिला वैज्ञानिक पुरस्कृत हुनुभएको छ । 

संसारभरका महिला वैज्ञानिकलाई अध्ययन अनुसन्धानमा सघाउने उक्त ओडब्लुएसडी फेलोसिपबाट नेपाली महिला वैज्ञानिक हेमु काफ्ले, शोभा पौडेल, प्रतिभा पाण्डे, टिष्टा प्रसाईँ जोशी र ज्योति भण्डारीले पुरस्कृत भई अन्तर्राष्ट्रिय अवार्ड भित्र्याउन सफल हुनुभएको हो । 

हेमु काफ्लेले सन् २०१८ मा एस्ट्रोनमी, स्पेस एन्ड अर्थ साइन्समा, शोभा पौडेलले सोसिअल एन्ड इकोनोमिक साइन्समा यो अवार्ड पाउनुभएको हो । 

त्यस्तै, प्रतिभा पाण्डेले सन् २०१९ मा केमिकल साइन्स र टिष्टा प्रसाईँ जोशीले बाइलोजिकल सिस्टम एन्ड अर्गानिज्ममा अवार्ड भित्र्याउन सफल हुनुभएको हो । 

त्यसैगरी, ज्योति भण्डारीले सन् २०२० मा एग्रिकल्चर साइन्समा अवार्ड प्राप्त गर्नुभएको छ । उहाँ यही वर्ष अनुसन्धान पूरा गर्ने क्रममा हुनुहुन्छ । 

उहाँहरूले झण्डै तीन करोडको अन्तर्राष्ट्रिय अवार्ड भित्र्याएर स्वदेशमै अनुसन्धान गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button