बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाई पदमुक्त

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले चौलागाईलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भङ्ग गरेको, परिषद्को स्वीकृति बेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानूनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरू गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको बागमती सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
चौलागाईले केही दिनअघि युवा तथा खेलकुद मन्त्रीले आफूलाई स्पष्टीकरण मागेको र राजनीतिक प्रतिशोध राखेर पदमुक्त गर्न लागेको भन्दै आफूले गरेका कामहरूको बारेमा जानकारी दिदैं पत्रकार सम्मेलन गर्नुभएको थियो । चौलागाईलाई २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्