सडक सुरक्षासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ रेडियो नेपाल सुर्खेत र मन्त्रालयबीच सम्झौता भएको हो ।
सडक सुरक्षासम्बन्धी रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्ने सम्बन्धी सम्झौता पत्रमा आज मन्त्रालयका सचिव गणेशराज वस्ती र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयका सुर्खेतका प्रमुख, निर्देशक गोपाल थापाले हस्ताक्षर गर्नुभयो ।
चालु आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० भाग कार्यक्रम हरेक महिनाको दोस्रो र चौथो बुधवार दिउँसो ४ः३० बजे रेडियो नेपाल सुर्खेतबाट प्रसारण हुनेछ ।
उक्त रेडियो कार्यक्रममा सडक दुर्घटनाको जोखिमलाई कम गर्न अपनाउनुपर्ने सावधानीसँग सम्बन्धी सन्देशमूलक सामग्री, सरोकारवाला निकायको प्रयास एवम् कानुनी प्रावधान लगायतका विषयमा विज्ञहरूसँगको अन्तरक्रिया समेटिने मन्त्रालयका सचिव वस्तीले जानकारी दिनुभयो ।
रेडियो नेपाल सुर्खेतका कार्यालय प्रमुख निर्देशक थापाले जनहितकारी यस्ता कार्यक्रमले आम नागरिकलाई सूचना र सचेतना जगाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुबेदीले व्यवहार परिवर्तनमा सूचनाको महत्त्वपूर्ण भूमिका रहने हुँदा आम सर्वसाधारणहरूको लागि उपयोगी जानकारी समेट्दै कार्यक्रमलाई प्रभावकारी बनाउन रेडियो नेपाल सक्षम छ भन्नुहुँदै प्रभावकारिताको आधारमा आगामी आर्थिक वर्षमा समेत कार्यक्रम निरन्तर गर्न सकिने बताउनुभयो ।
कर्णाली प्रदेशका विभिन्न मन्त्रालय र स्थानीय पालिकाहरूसँगको सहकार्यमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयले सुर्खेतले विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्