झापा गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक

भद्रपुर, झापा । बहुप्रतिक्षित झापा गोल्डकपको पाँचौँ संस्करणको मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ ।
झापा गोल्डकप मूल आयोजक समितिले आज बिर्तामोडस्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मस्कट, गीत र नारा सार्वजनिक गरेको हो ।
गोल्ड कप यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुन लागेको छ ।
गोल्ड कपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलो पटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।
झापाको भूगोल र यहाँका फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल खेलको हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको सङ्गीत रहेको छ । डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाको स्वर रहेको छ ।
गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ । मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गर्नुभएको हो ।
यो वर्षको झापा गोल्ड कपको नारा ‘डोमालाल राजवंशी रङ्गशालाको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ ।
झापामा स्थायी रङ्गशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्