प्रधानमन्त्री कृषि आधुनिकीकरणको पकेट र ब्लकको कार्यक्रम प्रभावकारी बनाइने
जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धनुषामा सञ्चालनमा रहेको पकेट तथा ब्लकको कार्यक्रमलाई प्रभावकारी बनाउने सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
परियोजनाको कार्यान्वयन इकाई धनुषाले स्थानीय तहमा कार्यरत कृषि–पशु सेवा प्राविधिकहरूको लागि पकेट ब्लक कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी प्राविधिकहरूले कृषि क्षेत्रको विकासका लागि परियोजनाको काम महत्त्वपूर्ण भएकाले पकेट तथा ब्लकको कार्यक्रम सफल बनाउने प्रतिबद्धता प्रकट गर्नुभएको हो ।
धनुषाका १८ पालिकाका स्थानीय तहमा कार्यरत रहेका कृषि तथा पशु प्राविधिकहरूले परियोजनाको पकेट तथा ब्लक विकास कार्यक्रमको कार्यान्वयन गर्नका लागि चालु आर्थिक वर्षको कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशित गर्ने काम भएकोले चाडै कार्यान्वयनमा जाने प्रतिबद्धता प्रकट गर्नुभएको परियोजनाका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो ।
स्वदेशी पुँजी, प्रविधि तथा प्राविधिकको सहभागितामा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले मुलुकमा रहेको खाद्यान्नमा आत्मनिर्भर बनाएर निर्यात गर्ने क्षमता हासिल गर्ने लक्ष्यसहित तीन तहका सरकारले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पकेट विकासको कार्यक्रम स्थानीय तह, ब्लक विकासको कार्यक्रम प्रदेश सरकार तथा जोन र सुपर जोन कार्यक्रम सङ्घीय सरकारको ७७ जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईमार्फत सञ्चालनमा रहेको छ ।
खाद्यान्नमा बढ्न थालेको परनिर्भरता घटाउने उद्देश्यले सञ्चालन रहेको कार्यक्रमहरू जिल्ला स्तरमा प्रभावकारी भए पनि स्थानीय तहबाट सञ्चालित कार्यक्रमहरू त्यति प्रभावकारी नभएकोमा प्रभावकारी बनाउनका लागि पटक पटक सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्ने काम हुँदै आएको परियोजनाको धनुषाका कार्यालय प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।
धनुषा जिल्लामा माछा सुपर जोन, धान, माछा तथा आँप जोन कार्यक्रमका अतिरिक्त प्रदेश र स्थानीय तहमार्फत धान, तरकारी, तेलहन दलहन, माछा, गाई भैँसी पालनको क्षेत्रमा पकेट तथा ब्लक विकासको कार्यक्रम सञ्चालन गरेर किसानहरूको क्षमता विकासका साथै कृषि क्षेत्रको आधुनिकीकरण र यात्रीकीकरणमा जोड दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्