तपाईँ सुन्दै हुनुहुन्छः

सीमान्तकृत तथा लोपोन्मुख समुदायका किशोरीहरूद्वारा सशक्तीकरणका सवालहरू तयार

काठमाडौँ । नेपालका आदिवासी जनजाति, सीमान्तकृत तथा लोपोन्मुख समुदायका किशोरीहरूले आफ्ना सशक्तीकरण र विकासका लागि आवश्यक सवालहरू तयार पारेका छन् ।

राष्ट्रिय जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित काठमाडौँमा हालै सम्पन्न राष्ट्रिय स्तरको आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम मार्फत उनीहरूले सो एकीकृत सवालहरू तयार पारेका हुन् । 

फागुन १ देखि ३ गतेसम्म सञ्चालित सो अन्तरक्रिया नेपालका लोपोन्मुख, सीमान्तकृत, अति सीमान्तकृत र पछाडि पारिएका आदिवासी समुदायका महिला र किशोरी/युवतीहरूको सशक्तीकरणका लागि आयोजना गरिएको निफका परियोजना संयोजक अमित लामाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

सो कार्यक्रम स्थानीय पहलहरूको लागि क्यानडा कोषको आर्थिक सहायतामा सञ्चालन गरिएको हो ।  

संयोजक लामाका अनुसार ८ वटा आदिवासी समुदायका ४० जना किशोरीहरूले भाग लिएका थिए । लोपोन्मुख वनकरिया र हायु, अति सीमान्तकृत थामी र चेपाङ, सीमान्तकृत पहरी, सुनुवार र तामाङ र लाभबाट वञ्चित छन्त्याल समुदायका किशोरी तथा महिलाहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

सीमान्तकृत समुदायका किशोरीहरूले आफ्ना मुख्य सवालहरूमा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार र आदिवासी संस्थाहरूले के के गर्नुपर्छ भन्ने सुझाव समेटेका छन् ।

संयोजक तामाङका अनुसार अब ती सुझावहरूलाई निकट भविष्यमा आयोजना हुने राष्ट्रिय स्तरको संवाद कार्यक्रममा सरोकारवालाहरू माझ पेस गरिने निफले तयारी गरिरहेको छ ।

राष्ट्रिय स्तरको सो अन्तरक्रिया कार्यक्रममा सहभागी गराउनु अघि ८ वटै समुदायका किशोरीहरूलाई २० जनाको समूहमा पहिले नै स्थानीय स्तरमा ४ दिने नेतृत्व विकास तालिम दिइएको निफका उपाध्यक्ष यशोकान्ति भट्टचनले बताउनुभयो । उहाँले सीमान्तकृत तथा लोपोन्मुख किशोरीहरू बसोबास गर्ने क्षेत्रमा पुगेर सो तालिम दिइएको बताउनुभयो ।

काठमाडौँमा मङ्गलवार सम्पन्न राष्ट्रिय स्तरको कार्यक्रममा भने प्रत्येक समुदायबाट ५ जना किशोरीहरूलाई प्रतिनिधित्व गराइएको हो ।

तीन दिने अन्तरक्रियाको क्रममा नेपालको आदिवासी आन्दोलनमा आदिवासी युवाहरूको संलग्नता र युवा सँग सम्बन्धित विद्यमान नीति तथा योजनाबारेको बुझाइमा हेमन्त कुमार राईले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी, ‘जलवायु परिवर्तनबारेको बुझाई र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन सम्बन्धी संयन्त्र र प्रक्रियाहरूमा आदिवासी युवाहरूको संलग्नता’ विषयमा टुंगा भद्रा राईले र ‘आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र र आदिवासी किशोरी र महिलाको अधिकारहरू बारेको बुझाई’ बारे स्टेला तामाङले सहभागी किशोरीहरूसँग प्रयोगात्मक अन्तरक्रिया गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम दिन ८ वटा समुदायका किशोरीहरूले आदिवासी किशोरी मञ्च (फिग) गठन गरेका छन् । आफ्नो अधिकारका लागि सङ्गठित भई काम गर्नका लागि मञ्च गठन गरिएको फिगका अध्यक्ष एन्जेलिका भयलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button