जनशक्तिको अभावमा आइसियु सेवा प्रभावित

तनहुँ । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा सरकारले लगानी बढाएपछि देशका अधिकांश अस्पतालहरूमा पूर्वाधार थपिएका छन् । कोरोनाले तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पूर्वाधार थपिएका छन् । सरकारले पूर्वाधार विकासमा लगानी बढाए पनि दक्ष जनशक्ति अभावका कारण थपिएका पूर्वाधार र सेवा भने सञ्चालनमा कठिनाइ भएको छ ।
अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्न अक्सिजन प्लान्ट र आवश्यक भेन्टिलेटर सहित आइसियु कक्ष निर्माण गरिएको छ । गुणस्तरीय उपचार उपलब्ध गराउन यो अस्पतालमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले दिएको दुई करोड ७८ लाख रुपैयाँ बजेटले अक्सिजन प्लान्ट र आइसियु सेवा थपिएको हो । तर अक्सिजन प्लान्ट सञ्चालनमा आएपनि आइसियु सेवा भने महिनौँदेखि प्रभावित रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो ।
‘पाँच भेन्टिलेटर सहित १० बेडको आइसियु कक्ष तयार छ’, उहाँले भन्नुभयो ‘आइसियु सञ्चालनका लागि तालिमप्राप्त नर्सहरूको अभाव छ । डाक्टरहरू आन्तरिक रुपमा म्यानेज गर्ने तयारीमा छौँ ।’

डा. श्रेष्ठले आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयसँग समन्वय भइरहेको उल्लेख गर्नुभयो । ‘३० जना स्टाफ नर्स थप गर्न समन्वय भएको छ । आइसियुका लागि १८ जना तालिमप्राप्त नर्स आवश्यक हुन्छ’, उहाँले थप्नुभयो, ‘आन्तरिक रुपमा पाँच जना तालिम प्राप्त नर्स नियुक्त गरेर भए पनि सेवा सुचारु गर्नलाई बोर्डको निर्णय कुरेका छौँ ।’
सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका बिरामीहरूलाई जटिल प्रकृतिको समस्या लिएर पोखरा लगायतका देशका अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको छैन । श्वासप्रश्वास सम्बन्धी विशेष सेवा सहितको उपचार थालनी गर्ने तयारीमा रहेको अस्पतालमा अप्रेसन सहित महिला रोग र बाल रोग सम्बन्धी विशेष उपचार सेवा सञ्चालनमा रहेको प्रशासन शाखाका नासु प्रदीप पौडेलले बताउनुभयो । तनहुँका सम्पूर्ण स्थानीय तहको संयुक्त लगानीमा कोभिड विशेष आइसोलेसन भवन निर्माण गरी अस्पतालले सेवा दिँदै आइरहेको छ ।
यस क्षेत्रका नागरिकहरूले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुला अस्पतालको रुपमा रहेको जिपिमा दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालमा छ जना मेडिकल अधिकृत सहित १० जना विशेषज्ञ डाक्टर कार्यरत छन् । यहाँ तनहुँको शुक्लागण्डकी नगरपालिका सहित भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, स्याङ्जाको हरिनास गाउँपालिका, बिरुवा गाउँपालिका कास्कीको दक्षिणी भेग र पाल्पाको रामपुर क्षेत्रबाट बिरामी आउने अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्