तपाईँ सुन्दै हुनुहुन्छः

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ ।

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धराशायी हुने भन्दै महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने ठहर गरेको छ ।

महासङ्घले विज्ञप्ति मार्फत विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा विश्वास रहेको जनाएको छ । ब्याजदर वृद्धिका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने महासङ्घले उल्लेख गरेको छ ।

व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउने भन्दै महासङ्घले सरकार र नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button