भोजपुरमा दुई दिने बृहत् स्वास्थ्य शिविर हुँदै
भोजपुर । भोजपुरमा बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ ।
जिल्लामा आगामी फाल्गुण २७ र २८ गते दुई दिन स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । शिविरमा समन्वय भोजपुर नगरपालिकाले गर्ने छ ।
दाँवाली मिलन क्लब र नेपाल मेडिकल काउन्सिलको आयोजनामा सदरमुकाममा रहेको जिल्ला अस्पतालमा मुटु रोग, हाड जोर्नी तथा नसा, मानसिक रोग, बाल रोग, नाक, कान घाँटी लगायतका विभिन्न रोगको उपचार गरिने छ ।
शिविर सञ्चालनका विषयमा भोजपुर नगरपालिकामा सरोकारवाला निकायहरूका बिचमा छलफल समेत गरिएको दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा डा. लोचन कार्की, डा. भगवान् कोइराला र डा.भुपेन्द्र बस्नेत लगायत १० जना वरिष्ठ डाक्टरहरू सहित ६० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार जिल्ला अस्पताल भोजपुरमा आउने बिरामीहरूको प्रकारको आधारमा सरोकारवालाहरूको बैठक बसेर शिविरमा उपचार हुने थप रोगहरूको बारेमा समेत टुङ्गो लगाइने छ ।
बढी रकम तिरेर स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने भएकाले पनि जिल्लावासीका लागि यो शिविर उचित हुने भोजपुर नगरपालिका नगर प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्