काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

काठमाडौं ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा काँग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलवार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबिच पार्टी केन्द्रीय कार्यालयमा र बुधवार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबिच आन्तरिक छलफल भएको थियो ।
विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अधिवेशन प्रभावित भएका काँग्रेसका १६ जिल्लाका जिल्ला कार्यसमितिका सम्बन्धमा समेत बैठकले निर्णय गर्ने बताइएको छ । यसका साथै स्थानीय तहको निर्वाचनलगायत विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरुपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने प्रवक्ता डा प्रकाश शरण महतले बताउनुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
काँग्रेसले यही माघ १४ गते तत्कालका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहनुभएको छ ।
यसैगरी समितिमा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाश शरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये पार्टी सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्