तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहा

सउल। दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिक रूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनीहरूले तिर्नुपर्ने जरिवाना मिनाहासहित प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गरिने भएको छ ।

आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेस गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो । सो कुराको जानकारी कोरियाको न्याय मन्त्रालयले यहाँ रहेका अन्य मुलुकको राजदूतावाससहित नेपाली राजदूतावासलाई समेत जानकारी गराएको छ । जानकारी पाएसँगै नेपाली राजदूतावास सउलले यहाँ रहेका नेपालीमाझ सूचित गरेको छ ।

कोरिया सरकारले गैरकानूनीरूपमा बसोबास गरिरहेका विदेशीलाई पनि कोरोना परीक्षण गर्न र खोपका सबै मात्रा निःशुल्क रूपमा प्रदान गरेको छ । यहाँ रहेका कतिपय गैरकानूनी विदेशीले आफूलाई अध्यागमनले समाउला कि भन्ने डरले कोरोनाको खोप लगाएका छैनन् । त्यसैले पनि कोरोना नियन्त्रण गर्न कठिन भइरहेको कोरिया सरकारको ठम्याइ छ । उनीहरूलाई खोप लगाउन प्रोत्साहनस्वरुप दक्षिण कोरिया सरकारले यो योजना लागू गरेको हो ।

दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिकले हाल घर फर्कँदा बसाइ अवधिका आधारमा अधिकतम २५ हजार १४० अमेरिकी डलर अर्थात् तीन करोड वोनसम्म जरिवाना तिर्नुपर्ने साथै एकदेखि १० वर्षसम्म पुनः कोरिया प्रवेश निषेध गर्न सक्ने प्रावधान छ ।

मन्त्रालयका अनुसार कोरोना खोप पूरा गरेको प्रमाण पेस गरी उल्लिखित नियममा सहभागी हुनसक्ने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा पनि कोरोना खोप नलगाउने अवैधानिक विदेशी, आपराधिक क्रियाकलापमा संलग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिकलाई भने यो योजनामा सहभागी हुन पाउने छैनन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button