तपाईँ सुन्दै हुनुहुन्छः

नेपालबाट हुने निर्यातमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट हुने निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड बराबर भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको ६ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दै भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९को ६ महिनामा कुल वस्तु व्यापार घाटा४६.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु. ११० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ८३ अर्ब १ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button