हिउँमा फसेका ३४ जना नागरिकको सकुशल उद्धार

जुम्ला । हिउँमा फसेका जुम्ला तातोपानी गाउँपालिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयहरूको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको सकुशल उद्धार गरिएको हो ।
गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए ।
माघ २३ गते प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानून मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्वीइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्कियो । तर बाक्लो हिउँ जमेर बाटो समेत नखुलेकाले हिउँमा फसेका नागरिकको उद्धार हुन सकेको थिएन ।
तर मङ्गलवार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जना नागरिक सहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले हिउँमा फसेका ३४ नागरिक र उनीहरूका भेडा सहित घर घरमै सकुशल फर्किएको बताउनुभयो । उहाँका अनुसार जम्मा फसेका ३६ जना मध्य २ जना नागरिक २२ गते नै घर फर्किसकेका थिए ।
सेतो चिनी जडीबुटी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार र देखि प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक नागरिकको राहत र उद्धारमा जुटेको थियो ।
तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“सेतो चिनी (खिरौला) जडीबुटी सङ्कलन गर्न पाटनमा गएका नागरिक बिहीबार देखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए । २३ गते हवाई उद्धार गर्न सकिएन, त्यसैले राहत दियौ । तर फेरी हिउँ पर्न सक्ने भएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ जना लाइनै घरघरमा ल्याइएको छ ।”
त्यस्तै, पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडीबुटी सङ्कलन गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवी शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।








प्रतिक्रिया राख्नुहोस्