तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा रहेका युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफु पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ  । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्बन्धमा आज सरोकारवालाहरूसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।

आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई सरकारले हदैसम्मको कारबाही गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्‍याउनुपर्ने उहाँको भनाइ छ । 

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुर्नएकीकरण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालनजस्ता विषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ छ । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमीकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताउनुभयो ।  

नेपालले सात वटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धि लगायत एजेन्डा नेपालले प्रस्तुत गर्ने उहाँले बताउनुभयो । 

कार्यक्रमका सहभागीहरूले युएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । 

नेपाल र संयुक्त अरब इमिरेट्स(युएई)बीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदै छ । 

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाँदै छ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button