व्यावसायिक बङ्गुर पालनबाट वार्षिक १८ लाख आम्दानी

सल्यान । सल्यानको कपरकोट गाउँपालिका –३ कपुरकोटका भक्तबहादुर घर्तीले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।
व्यावसायिक बङ्गुर पालनबाट उहाँले वार्षिक १८ लाखको आम्दानी गर्दै आइरहनुभएको छ ।
विगत आठ वर्षदेखि परम्परागत रुपमा दुई वटाबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले साना ठुला गरी ३० वटा बङ्गुर पालन गर्दै आउनुभएको छ ।
बङ्गुर पालन व्यवसायबाट छोटो समयमा राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “मसँग १० वटा माउ बङ्गुर छन् । एक वर्षमा राम्रो स्याहार र दाना पायो भने तीन पटकसम्म पाठा पाठी दिन्छ । एउटै बङ्गुरले १० देखि १२ वटासम्म पाठा पाठी दिन्छ ।” उहाँले भन्नुभयो ।
एउटै पाठा पाठी ४ देखि ५ हजारसम्म बिक्री हुने भएकाले बङ्गुर आम्दानीको राम्रो स्रोत बनेको उहाँको भनाई छ ।
एक महिनाअघि मात्र १ सय २० वटा बङ्गुरका पाठा पोखरामा बिक्री गरेको बताउनुहुँदै उहाँले यस व्यवसायमा मासुका लागिभन्दा पनि पाठा पाठीको माग बढी हुने गरेको बताउनुभयो ।
“काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि ।” उहाँले भन्नुभयो ।
यस्तै, कपुरकोट गाउँपालिका – २ की तारादेवी घर्तीले पनि बङ्गुर पालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै आइरहनुभएको छ । थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएकाले पनि बङ्गुर पालनमा लागेको उहाँले बताउनुभयो ।
“बङ्गुर पालनबाट वार्षिक १२ लाख जति आम्दानी हुन्छ । त्यसमा ५ लाख जति खर्च हुन्छ होला बाँकी चोखो आम्दानी हो ।” घर्तीले भन्नुभयो । बङ्गुर बिक्रीका लागि बजारको खासै समस्या नभएको उहाँको भनाई छ ।

सिस्नो खाएको बङ्गुर राम्रो हुने भएकाले सल्यानबाट खोजी खोजी बङ्गुरका पाठा पाठी व्यापारीले लिने गरेको उहाँले बताउनुभयो ।
सल्यानबाट बढी मात्रामा पोखरा, बुटवल, काठमाडाँै, धनगढी, नेपालगञ्ज र दाङ जाने गरेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्