राखेपको सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धी रिटको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित भएको छ ।
सदस्य सचिव सम्बन्धी विचाराधीन रहेको रिटको सुनुवाइ पेशी नचढी स्थगित भएको अदालतले जनाएको छ । यस अघि रिटको पेशी सोमबारका लागि तोकेको थियो ।
अब रिटको पेशी फागुन २ गते हुने अदालतले जनाएको छ । यस अघि पनि पेशी नचढी सुनुवाइ स्थगित भएको थियो । सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्रीपरिषद्ले गत मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सदस्य सचिवको विवाद किनारा नलाग्दा राखेपको काम कारबाही ठप्प बनेको छ । जसले गर्दा खेल क्षेत्र मारमा परेको छ ।
गत साता सदस्य सचिव विवाद चाँडो टुङ्गाउन मागसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, नेपाल ओलम्पियन सङ्घ र राष्ट्रिय खेलकुद परिषद्–कर्मचारी सङ्घले बिहीबार शान्तिपूर्ण विरोधको कार्यक्रमको आयोजना गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्