तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पौडेलद्वारा बजेट थप गर्नुपर्ने योजना माग

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । 

आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । 

“अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ” मन्त्रीले भन्नुभयो, “थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।” 

उहाँले तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

“स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ ।”, मन्त्री पौडेलले भन्नुभयो, “अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरूको काम सक्नुहोस् ।” 

This image has an empty alt attribute; its file name is IMG_0033-1024x682.jpg

उहाँले गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिनुभयो । 

मन्त्री पौडेलले जिल्लामा झोलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन उहाँले आग्रह गर्नुभयो । 

नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरू, विद्यालय, मोटर बाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्री पौडेलले निर्देशन दिनुभयो । उहाँले बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताउनुभयो । 

“बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्य मन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्री पौडेलले भन्नुभयो, “त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनपर्‍यो ।”

बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै उहाँले अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सुनाउनुभयो ।
 प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको जानकारी दिनुभयो । 

लागू औषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उहाँले सुनाउनुभयो । 

ढकालले सीसीएमसीसीको निर्णय अनुसार माघ मसान्तसम्म विद्यालय वैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिएको पनि जानकारी दिनुभयो । 

कोभिडका कारण एक जना मात्र अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गरिरहेकाले जिल्लामा कोभिडको संक्रमण कम हुँदै गएको पनि उहाँले बताउनुभयो । 

मध्य पहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ५.५ किलोमिटर कालोपत्रे लागि काम भइरहेको जानकारी दिनुभयो । 

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्री पौडेललाई बिफ्रिङ गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button