मध्यपहाडी लोकमार्ग सञ्चालनका लागि हिउँ पन्छाउँदै सेना

अछाम । अविरल वर्षा सँगैको हिमपातले अवरुद्ध पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अछाम खण्ड सञ्चालनका लागि सेना परिचालन गरिएको छ ।
मध्यपहाडी लोकमार्गको मङ्गलसेन–विनायक खण्डमा परेको बाक्लो हिउँ पन्छाउनका लागि नेपाली सेनाको टोली खटिएको हो। मङ्गलसेनमा रहेको नेपाली सेनाको गणबाट खटिएका करिब ५० जना नेपाली सेनाको टोलीले सडकमा रहेको हिउँ पन्छाइरहेको छ ।
बिहानैदेखि घोगेरान, ठुलासेन, छिजा, गैरीटाँड लगायतका क्षेत्रका सडकमा जमेको हिउँ पन्छाइरहेको छ । हिउँ पन्छाएर आजै सडक खुलाउने तयारी रहेको सेनाले जनाएको छ । सडकमा करिब २ फिटसम्म हिउँ जमेको छ ।

हिमपातका कारण अछामका लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । करिब २ फिट बाक्लो हिमपातका कारण चिसो निकै बढेको छ भने हिउँ पग्लिन केही दिन लाग्ने स्थानीय सुवानाथ भण्डारीले बताउनुभयो । वर्षाले हिउँदे खेतीलाई राम्रो गरेपनि बाक्लो हिमपातले असर गरेको भण्डारीको भनाइ छ ।
हिमपातले सडक अवरुद्ध भए पछि यातायातका साधन मङ्गलसेन, ठुलासेन, गैरीटाँड लगायत क्षेत्रमा रोकिएका छन् । यता धनगढी–स्याउले–मङ्गलसेन सडकखण्ड पनि हिमपातका कारण अवरुद्ध भएको छ । सडक खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जानकारहरूका अनुसार २०४० साल पछि यो पटक ठुलो मात्रामा हिमपात भएको जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्