तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा उच्च स्तरीय समिति गठन

जनकपुरधाम । मधेस प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन उच्च स्तरीय समिति समितिको गठन गरिएको छ ।

मधेस प्रदेश सरकारको आज मधेस भवनमा बसेको मन्त्रिपरिषद् बैठकबाट आफ्नो प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्यमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह हुनुहुन्छ । चार जना मन्त्री प्रदेश सरकारमा रहेका चारै दलका रहनुभएको छ ।

समितिले भवन सहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीदेखि प्राविधिक सहित बजेट स्रोत व्यवस्थापनसम्मको कार्य गर्ने प्रदेश सरकारका प्रवक्ता साहले जानकारी दिनुभयो ।

समितिले नै विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति पनि गठन गर्न सक्ने कार्यादेश मन्त्रीपरिषद्को बैठकले समितिलाई दिइएको छ । समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले कार्य अगाडि बढाउने प्रवक्ता साहले जानकारी दिनुभयो ।

गत माघ ३ गते तत्कालीन प्रदेश नंं २ को प्रदेशको प्रदेश सभाको बैठकले स्थायी राजधानी जनकपुरधाम रहने गरी मतदानबाट दुई तिहाइले निर्णय भएपछि जनकपुरधाममा प्रदेश सरकारको स्थायी संरचनाको निर्माणसम्बन्धी कार्य गर्नका लागि समिति गठन गर्ने काम भएको समितिका अध्यक्ष प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिनुभयो ।

अहिले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, विभिन्न मन्त्रालय, मुख्यन्याधिवक्ता सहितको निकायको कार्यालय, मुख्यमन्त्री सहितका मन्त्रीहरूको आवास तत्कालीन जनकपुर चुरोट कारखानाको परिसरमा रहेको छ । जसलाई मधेस सरकारले मधेस भवन नामाकरण गरेको छ ।

बैठक मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थायी राजधानी तोकिएको १५ दिनपछि स्थायी संरचना निर्माण सम्बन्धी उच्च स्तरीय समितिको निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button